स्वास्थ्य पर्यटनको गन्तव्य बन्दै तातोपानी कुण्ड
म्याग्दी | कात्तिक ३०, २०७९
म्याग्दी: म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा रहेको प्राकृतिक तातोपानी कुण्ड स्वास्थ्य पर्यटनको गन्तव्य बन्दैगएको छ । प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको तातोपानीकुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र आफन्तहरूको भीड लागेको छ । तातोपानीका होटल र घरबास ‘होमस्टे’हरु भरिभराउ भएका छन् ।
तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार दैनिक दुई सयदेखि तीन सयको हाराहारीमा बिरामी कुण्डमा नुहाउन आउने गरेका छन् । अहिले कुण्डमा आलोपालो गरेर नुहाउने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।
निर्वाचन सकिएपछि यहाँ विगतको भन्दा उल्लेख्य मात्रामा भीड बढ्ने अनुमानसहित आवश्यक सुविधाहरू थप गरिएको समितिले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ बगेको म्याग्दी नदीको किनारमा अवस्थित तातोपानी कुण्डमा प्राकृतिकरूपमा नै जमिनभित्रबाट ५० डिग्री सेल्सियस तापक्रमको पानी निस्कने गर्दछ ।
बिरे नुनको गन्ध मिश्रित तातोपानी पिउँदै कुण्डमा बिहान तीन घण्टा र बेलुकी तीन घण्टा सातदेखि दश दिनसम्म नुहाएमा बाथरोग, ढाड दुख्ने, ग्यास्ट्रिक, चर्मलगायत रोग निको हुने विश्वास रहेको छ । बागलुङको ढिकीचौरबाट पहिलो पटक तातोपानीमा नुहाउन आउनुभएकी शर्मिला गौतमले लगातार सात दिनसम्म तातोपानीमा डुबेर उपचार गर्दा आफूलाई ढाड दुख्न कम भएको बताउनुभयो ।
यहाँ लगातार एक हप्तादेखि १५ दिनसम्म डुबेर उपचारका लागि तातोपानी कुण्डमा स्नान गर्नेको भीड लाग्छ । नेपाल र भारतका ठूला अस्पतालमा उपचार गर्दा पनि निको नभएका बिरामी उहाँ उपचारका लागि आउने गरेका छन् । परिवार र आफन्तको सहायतामा तातोपानी कुण्ड पुग्ने बिरामी लगातार हप्ता दिनसम्म स्नान गरेपछि आफ्नै खुट्टाले टेकेर घर फर्कने गरेको स्थानीय कृष्णबहादुर केसीले बताउनुभयो । “तातोपानी कुण्ड स्वास्थ्य पर्यटनको केन्द्र बन्दै गएको छ, यसले म्याग्दी जिल्लाको गौरव बढाउनाका साथै स्थानीयको आम्दानीसमेत वृद्धि भएको छ, विदेश गएकाहरू पनि फर्केर यहाँ होटललगायत अन्य व्यवसाय गर्न थालेका छन्”, केसीले भन्नुभयो ।
वार्षिक करिव २० हजार जनाले तातोपानी कुण्डमा स्थान गर्न आउने गरेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो । कोरानाकालका २ वर्षबाहेक त्यसअघिका वर्षहरूमा यहाँ कात्तिकदेखि फागुन महिनासम्म थेगीनसक्नुको भीड हुने गर्दथ्यो । कात्तिक दोस्रो सातासम्म सात सयजना भन्दा बढीले स्नान गरेका कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।
नेपालबाट मात्रै होनइ, भारत र तेस्रो मुलुकबाट पनि स्नान गर्न आउने बिरामीको सङ्ख्या बढ्दो छ । स्नान गर्न आउनेको सङ्ख्या बढ्दै गएपछि पुरुष र महिलालाई पालैपालो स्नानका लागि व्यवस्था गरिएको छ ।
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...
पोखरा । तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

